डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले दिइन् राजीनामा

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राजीनामा दिएकी छन्।

डेनमार्कमा भएको आम निर्वाचनमा उनको पार्टी सोशल डेमोक्र्याटले सबैभन्दा बढी मत प्राप्त गरेको छ। तर, बहुमत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएकी हुन्।  उनको पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डेनमार्कमा १७९ निर्वाचन क्षेत्र रहेकोमा बहुमतका लागि ९० सिट चाहिन्छ।

उनले आफ्नो पक्षमा नतिजा राम्रो आए पनि आफूले राजीनामा दिएर नयाँ  सरकारका लागि बाटो खुला गरेको जनाएकी हुन्।  उनले आफूले भोलि रानी समक्ष राजीनामा बुझाउने र नयाँ सरकारका लागि पहल गर्ने घोषणा गरेकी छन्।

‘यो पनि स्पष्ट छ कि सरकारको वर्तमान स्वरूपमा अब बहुमत छैन। त्यसैले भोलि म रानी समक्ष सरकारको राजीनामा बुझाउँछु,’ फ्रेडरिकसेनले भनिन्, ‘नयाँ सरकार गठनका लागि अन्य दलसँग भेटघाट गर्नेछु।’

४० लाख मतदाताले डेनमार्कमा १ हजार उम्मेदवारबाट १ सय ७९ जनालाई चुनेका छन्। डेनमार्कमा पूर्वप्रधानमन्त्री लार्स लक्के रासमुसेनको नवगठित पार्टीले १६ सिट जितेको छ।

उनी शल डेमोक्रयाटबाट अलग भएर नयाँ पार्टी निर्माण गरेका हुन्। ५० सिट जितेको सोशलले अन्य पार्टीसँग मिलेर सरकार बनाउने कि अन्य साना दलको संयुक्त सरकार बन्ने बारे भने अझै अन्योल देखिएको छ।

यो निर्वाचनमा विभिन्न १४ दलका उम्मेदवार विजयी भएका छन् भने ६ जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।