सोमालियामा विद्राेही समूहले कब्जा गरेको होटल ३० घण्टापछि सुरक्षाकर्मीकाे नियन्त्रणमा

सोमालियामा विद्रोही समूहले कब्जा गरेको एउटा होटल ३० घण्टापछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । राजधानी मोगादिशुको होटल विद्रोही समूह अल–शबाबले कब्जा गरेको हो ।

३० घण्टासम्म विद्रोहीको कब्जामा रहेको होटलमा कम्तीमा २१ जनाको हत्या भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै १ सय १७ जना घाइते भएका छन् । होटल केहीबेर अघि नियन्त्रणमा लिएर सुरक्षाकर्मीले होटलभित्र फसेकाहरूको खोजी गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।

विद्रोही समूह मोगादिशुमा रहेको हायात होटलको परिसरमा दुई वटा बम विस्फोट गराएर गोलाबारी गर्दै होटल प्रवेश गरेका थिए । शुक्रवार होटल प्रवेश गरेका उनीहरूले रातभर होटलका पाहुनालाई बन्धक बनाएका थिए । आक्रमणकारीहरू पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएपछि होटल सुरक्षा फौजको नियन्त्रणमा आएको हो । शुक्रवार राति र शनिवार भएको भिडन्तका कारण होटलको धेरैजसो संरचना ध्वस्त भएको छ ।