मानव अधिकार आयाेगद्वारा कालीकाेट बम विस्फाेट घटनाकाे अनुगमन सुरु

काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले दुई जना बालिकाको ज्यान जाने गरी कालीकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ ।

आयोगले आज मङ्गलवार विज्ञप्ति निकालेर घटनाबारे स्थलगत अनुगमनका लागि टोली पठाएको जनाएको हो । कालीकोटको तिलागुफा नगरपालिका १० मा यही कात्तिक १२ गते भएको बम विस्फोटमा दुई जना बालिकाको ज्यान गएको थियो भने अन्य तीन जना बालबालिका घाइते भएका थिए । आयोगले यस्ता घटनालाई संवेदनशीलरूपमा लिइ स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

यस्तै पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, आउँदा दिनमा यस्ता प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ ।