सुर्खेतमा ३ लाख ५८ हजार बढीले कोरोना विरुद्धको खोप लगाए

सुर्खेत । सुर्खेतमा तीन लाख ५८ हजार जना बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म तीन लाख ५८ हजार ७६३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

 जनस्वास्थ्य सेवा कार्यालयका अनुसार एक लाख ८२ हजार ५८९ जनाले पहिलो मात्रा मात्रै खोप लगाएका छन् भने एक लाख ७६ हजार ७४ जनाले पूर्ण (दोस्रो) मात्रा लगाएका हुन् ।

कार्यालयका प्रमुख चेतननिधि वाग्लेले खोप लगाउन छुटेका र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम चलिरहेको जानकारी दिए ।

४८ हजार बालबालिकालाई खोप लगाइँदै

कार्यालयका अनुसार सुर्खेतमा ४८ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोप लगाउने तयारी गरिएको प्रमुख वाग्लेले जानकारी दिए । केन्द्रबाट मिति तोकिएसँगै खोप लगाइने उनले बताए ।

दुई जना मात्रै सक्रिय संक्रमित

सुर्खेतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई रहेको छ । अस्पताल, आइसोलेशन कक्ष, आइसियू र भेन्टिलेटर खालि रहेका छन् । पहिलाको तुलनामा संक्रमितको संख्या कम रहेको कार्यालयले जनाएको छ ।  यद्यपी अझै पनि कोरोना संक्रमणको जोखिम रहिरहेकाले सबैले सचेत रहनुपर्ने प्रमुख वाग्लेले बताए । जथाभावि भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले आग्रह गरे ।

हालसम्म सुर्खेतमा २२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।