कसरी भयो ? कालिकोट बम विस्फोट घटना

प्रवलाल थापा र उनका छोरा घाइते कमल थापा

शनिबार बिहानै चारबजे प्रवलाल थापा धान काट्न नजिकैको धानबारीमा गए । घरदेखी करिब दश मिनेटको बाटो भएपनि खेतबारीबाट उनको घर प्रष्ट देखिन्छ ।

तिलागुफा नगरपालिका १० रानाबाडा कालिकोटका प्रवलालसंगै उनका तिनछोरी, श्रीमती र एकजना भाई नाता पर्ने पनि उनीसंगै थिए ।

प्रवलालको छोरा ७ वर्षीय कमल थापा, उनका भाई जयलाल थापाका छोरा पाँच वर्षीय मुस्कान थापा, मुस्कानकी बहिनी ३ वर्षीय झरना थापा, चारवर्षीय सरस्वती थापा, दर्शना राना र अर्का एकजना बालक समेत संगै घरनजिकैको कोदोबारीमा खेल्दै थिए ।

संधै जस्तै घरमा साना छोराछोरीहरु छोडेर खेतीबालीको काम गर्न जाने भएकोले छोराछोरी कुनै दुर्घटनामा पर्लान् भन्ने प्रवलाललाई लागेकै थिएन । लागेसपनि कसरी ! त्यस्त्रो बाढी र पहिरोको जोखिममा पनि सुरक्षित राखेका छोराछोरी द्धन्द्ध सकिएको १६ वर्षपछि विस्फोटक पदार्थकै कारण अंगभंग होलान् र कसैलाई गुमाउनुपर्ला भनेर ।

भर्खरै चार्डवार्ड सकिएकोले कामको चटारो उत्तिकै थियो । दिनभरी धान काटेर सक्ने योजना बनाएका प्रवलालको कानमा एक्कासी बम बिस्फोटको आवाज आयो । करिब बिहानको साढे ७ बजेको थियो । बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो उनको नजर आफ्नै घरतर्फ पर्र्यो तर धुँवाले घर देखिएको थिएन ।

यो दृश्य देखेपछि उनको सात्तो गयो । उनी आत्तिए , धान काट्दै गरेको आँसी बारीमै छोडेर घरतर्फ दौडिए । जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाई जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको थियो ।

आफ्नो छोरासहित पाँचजना घाइते देखेपछि उनले केही सोच्नै सकेनन् । एकजना बालक भने अलि टाढा भएकोले कुनै चोट लागेनछ । स्थानियले वडासदस्यलगाएत जनप्रतिनिधिहरुलाई जानकारी गराए । छिमेकीहरु पनि के भयो ? भन्दै घटनास्थलमा पुगे । प्रहरीलाई पनि खबर गरियो ।

तिलागुफा नगरपालिकाको पहलमा हेलिकप्टरमा तत्काल घाइतेहरुको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा करिब ११ बजे ल्याईयो ।

प्रवलाल थापाका भाइका छोरा घाइते मुस्कान थापा

अस्पतालमा पुगेपछि पनि ४ वर्षीय सरस्वती रानाको ज्यान बचाउन नसकिएको प्रवलालले सुनाए ।

‘मेरो छोरा र भाइको छोराको हिँजो अप्रेशन भएको छ, उनले भने“अहिलेसम्म खर्च त केही गर्नुपरेको छैन । तर मृतक र घाइतेहरुको विषयमा प्रदेश सरकार र संघिय सरकार पनि गम्भिर हुनुपर्छ ।”

दशवर्षे जनयुद्धलाई प्रवलालले नझेलेका होइनन् । त्यो बेलामा ज्यान जोगाएर बसेका प्रवलाललाई अहिले द्धन्द्धको झल्को दिनेगरी पिडा परेको छ ।

उनी थप्छन् “यसको जिम्मा राज्यले लिनुपर्छ । कसका लागि र कसले द्धन्द्ध गरेको हो ? तर हामी सोझा नागरिकले छोरा–छोरी गुमाउनुपरेको छ ।”

बिस्फोटक पदार्थ बिस्फोट भएको ठाउँ घर नजिकै को हो । आँफैले रोपेको कोदो बारी, कुलो पनि त्यही बारीबाट बग्छ , प्रवलाल प्राय बारीमा पस्छन् । तर बिस्फोटक पदार्थ कहाँबाट आयो भन्ने उनलाई जानकारी छैन ।

बिस्फोटक पदार्थका विषयमा प्रहरीले अनुसन्धान गर्दै गरेको भएपनि द्धन्द्धका समयमा लुकाएर राखिएको बिस्फोटक पदार्थ गत महिनामा परेको झरीले बगाएर ल्याएको वा कसैले फालिदिएको हुनसक्ने प्रवलाललको अनुमान छ ।

छोराछोरीहरु कहिले निको हुनेहुन् कुनै टुगों छैन । कमलको दुवै खुट्टा र एउटा हातमा चोट छ । मुस्कानको भने एउटा खुट्टामा मात्रै चोट छ । दुवै छोराहरुलाई एक्लैले उनले हेरचाह गरिरहेका छन् । घाइते दर्शना राना आइसियुमा रहेको उनले बताए ।

 

भाइ जयलालले छोरी गुमाएको पिडामा अस्पताल आउन सकेनन् । उनको छोरालाई पनि प्रवलालले हेरबिचार गर्दै आएका छन् ।

प्रवलाल थापा दुई घाईते छोराहरु कुर्दै

उनले मृतकका परिवारलाई उचित क्षतीपुर्ती , घाइतेहरुलाई पुर्ण उपचार, उच्चशिक्षा तथा अवस्था हेरेर रोजगारीको ग्यारेण्टि राज्यले गर्नुपर्ने बताए ।

स्थानिय तहले सबै उपचार खर्च व्यहोरेको भएपनि यसमा प्रदेश र संघिय सरकारको समेत ध्यान जानुपर्ने उनले भनाई छ ।

प्रहरी अनुसन्धानका क्रममा उक्त बिस्फोटक पदार्थ पुरानै सकेट बम भएको पत्ता लागेको र बालबालिकाहरुले खेलाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

यता तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले उपचार स्थानिय सरकारले गरेको र राहत र क्षतीपुर्तीको विषयमा प्रदेश सरकार तथा संघिय सरकार गृह मन्त्रालयमा समेत समन्वय गरिहेको जानकारी दिए । “आजसम्म बिदा थियो साहेद भोली केही निर्णय गरिन्छ होला” उनले भने,