सन्दीपविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले  सोमबार सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भएसँगै उनलाई आजै अदालतमा उपस्थित गराईनेछ ।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । तीन पटकसम्म म्याद थप गरी प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान गरेको थियो ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।