पीएम कपमा पुलिसकाे लगातार दाेस्राे जित

काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । लगातार दाेस्राे जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायाे ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएकाे १ सय ३ रनकाे सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायाे । उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदाेश अनसारी र सिद्धान्त लाेहनीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायाे । उसका निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाए । बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

याे जितसँगै समूह बी मा रहेकाे पुलिस २ खेलमा ४ अङ्क जाेड्दै शीर्ष स्थानमा छ । प्रदेश १ ले भने हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ ।