मुगुको गमगढी बजारमा आगलागी, १८ घर र ३ वटा घुम्ती पसलमा क्षति

सुर्खेत । मुगुको गमगढी बजारमा आगलागी भएको छ । मुगुको गमगढी बजारमा गए राती आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार राति १२ः३० बजे आगो लाग्न सुरु भएको थियो । कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले एउटा घर भत्काए पछि अहिले आगो नियन्त्रणमा आएको बताए ।

उनले आगो फैलिन नदिनका लागि एउटा घर भत्काउनुपरेको जानकारी दिए । उनका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्टी पसल जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ ।

एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । उनले आगलागी नियन्त्रण प्रहरी नेपाली सेना, स्थानीयको सहयोगमा लिएको बताए । आगलागीबाट मानवीय क्षति भनेको भएको छैन् । उनले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिए ।