नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत

काठमाडौं। नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ।

शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको जानकारी दिए।

२०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो। त्यस वेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्छन्।

यो क्रमले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ। सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसंख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।