टी-२० विश्वकप : भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा

काठमाडौं ।  भारतविरुद्ध सानदार जित निकाल्दै इंग्ल्याण्ड अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार एडिलेडमा भएको अन्तिम सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो।

भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिनाक्षति पूरा गरेको हो। इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान एलेक्स हल्सले ८६ र जोस बट्लरले ८० रनको सानदार पारी खेले। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो।

भारतका लागि विराट कोहलीले ४० बलमा ५० रनको योगदान गरे भने हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाए। यसका लागि उनले ३३ बलको सामना गरे। उनले आफ्नो इनिङमा ४ चौका र ५ छक्का प्रहार गरे। उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भए।

ओपनिङमा आएका कप्तान रोहित शर्माले २७ र के एल राहुलले ५ रन जोडे। सूर्यकुमार यादवले १४ रन बनाए। रिषभ पन्त ६ रन बनाएर आउट भए भने रविचन्द्रन अश्विन ० रनमा अविजित रहे। इंग्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा क्रिस वोक्स र आदिल राशिदले १/१ विकेट लिए।

इंग्ल्याण्डले फाइनलमा पाकिस्तानको सामना गर्नेछ। फाइनल आगामी आइतबार मेलबर्न क्रिकेट मैदानमा हुनेछ। पाकिस्तान न्युजिल्यान्डलाई पराजित गर्दै फाइनल पुगेको हो।