नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज मंगलबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल आयोजकसँग ५१-४७ ले पराजित भएको थियो ।

नेपाल पहिलो जितको खोजीमा रहेको छ । भुटानविरुद्ध सहज जित निकालेको श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगेका थिए ।

नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।