काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कलेक्सन गरेको छ । असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले तीन सातामा ३७ करोड २६ लाख ९नेपाली रुपैयाँ०कलेक्सन गरेको निर्माता एवं निर्देशक सन्तोष सेनले लोकान्तरलाई जानकारी दिए । सेनका अनुसार चलचित्रले नेपालमा मात्रै तीन सातामा १३ करोड २६ लाख रुपैयाँ कलेक्सन गरेको छ ।

चलचित्र गत शुक्रवारदेखि नेपाल, भारतलगायतका देशमा चौँथो सातामा प्रदर्शनरत छ । चौँथो सातामा पनि चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको निर्माण टिमको दाबी छ ।
सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा छन् । साथमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको चलचित्रमा अभिनय छ ।
‘प्रेमगीत–३’ले नेपाली चलचित्रलाई विश्व बजारमा प्रवेश गराउँदै एकैदिन धेरै देशमा प्रदर्शन भएको चलचित्रको कीर्तिमानसमेत बनाएको छ । पाकिस्तानमा समेत पहिलोपटक नेपाली चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुँदैछ ।

फरकबाटो ३० आश्विन २०७९, आईतवार १४:०६