महिला एक सय मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।

हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२ दशमलव १५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाइन् । आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२ दशमलव ९३ सेकेण्ड समयमा निर्धारित दुरी पार गरेर कास्य जितिन् ।

सरस्वतीले आठौँ राष्ट्रिय खेलकुदमा १२ दशमलव १९ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेकी थिइन् ।