प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

काठमाण्डाै । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।

सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य हुने छैन ।

दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको उनले बताए । आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा धेरै निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी तयारी अवस्थामा रहेको आयोगले जनाएको छ ।