वेस्ट इन्डिजविरुद्ध पहिलो टी २० मा भारतको शानदार जित

काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको पाँच खेलको टी २० सिरिजमा विजय सुरुवात गरेको छ। तरौबामा भएको पहिलो टी २० मा भारतले ६८ रनको जित हासिल गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९० रनको स्कोर तयार गरेको थियो। जवाफमा वेस्ट इन्डिज १२२ रनमा समेटियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाउँदा दिनेश कार्थिकले विस्फोटक इनिङ खेल्दै १९ बलमा ४१ रनमा अविजित रहे।

त्यस्तै सुर्यकुमार यादवले २४ रन बनाउँदा ऋषभ पन्तले १४ तथा रविन्द्र जडेडाले १६ रन बनाए। वेस्ट इन्डिजका लागि अलजारी जोसेफले दुई विकेट लिए।

१ सय ९१ रनको लक्ष्य पछ्याएको क्यारेबियन टिमका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि समर्च ब्रुक्सले २० रन बनाउनु सर्वाधिक रह्यो। भारतका लागि अर्सदीप सिंह, रविचन्द्रन आश्विन र रवि विश्वईले समान २–२ विकेट लिए।

यी दुईबीचको दोस्रो टी २० सोमबार हुँदै छ।