काठमाडौं । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस विज्ञप्तीप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नो मूल उद्देश्य नै बिसिएर सत्तारुढ गठबन्धनका भातृ संगठनका रुपमा राष्ट्रपतिविरुद्ध समेत बक्तव्यबाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ ।
प्रेस चौतारीले भनेको छ, ‘मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेका बेला पत्रकार महासघ श्रमजीविका पक्षमा कुनै काम गर्न सकिरहेको छैन । सत्तारुढ गठबन्धनमै आवद्ध दलका नेताले सञ्चालन गरेका टेलिभिजनले लामो समयसम्म श्रमजीवि पत्रकारलाई विनापारिश्रमिक काम लगाइरहको र त्यहां कार्यरत सञ्चारकमी तीन महिनादेखि आन्दोलनमा छन । सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रहको आधारमा निश्कापण गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने काम पनि यथावत छ आफूले गर्नेपर्ने यी सबै विषयमा पत्रकार महासंघ मौन छ । तर सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर पत्रकार महासंघ राजनीतिक वक्तव्यवाजीमा भने निकै अगाडि देखिएको छ ।’
प्रेस बिज्ञप्ती
नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नो मूल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका रुपमा सम्माननीय राष्ट्रपतिबिरुद्ध समेत बक्तब्यवाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ ।
मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेको बेला पत्रकार महासंघ श्रमजीविको पक्षमा कुनै काम गर्न सकिरहेको छैन । सत्तारुढ गठबन्धनमै आवद्ध दलका नेताले सञ्चालन गरेको टेलिभिजनले लामो समयसम्म श्रमजीवि पत्रकारलाई बिनापारिश्रमिक काम लगाइरहेको र त्यहाँ कार्यरत सञ्चारकर्मी तीन महिनादेखि आन्दोलनमा छन । सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रहको आधारमा निश्काषण गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने काम पनि यथावत छ । आफूले गर्नैपर्ने यी सवै बिषयमा पत्रकार महासंघ मौन छ । तर सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर पत्रकार महासंघ राजनीतिक बक्तब्यवाजीमा भने निकै अगाडि देखिएको छ ।
पछिल्लो पटक महासंघको लेटरप्याडकै बदनाम हुने गरी सम्माननीय राष्ट्रपतिबिरुद्ध बिषबमन गर्दै बक्तब्य जारी गर्ने, संबिधानको मर्यादाभन्दा बाहिर गएर राष्ट्रपतिबिरुद्ध बक्तब्य दिने उपराष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक कामप्रति केही नबोल्ने तथा सम्माननीय प्रधानन्यायाधीशलाई सरकारी निवासमै नजरबन्द गर्दा पनि नबोल्ने काम आफैमा खेदजनक छ । यी कार्यहरुले पत्रकार महासंघ आफ्नो स्वतन्त्र छवि कायम गर्न सकिरहेको मात्रै होइन, अमुक राजनीतिक दलको मतियार बनेको तथ्य उजागर गर्दछ । प्रेस चौतारी नेपाल पत्रकार महासंघको यस्तो हर्कतप्रति कडा आपत्ति जनाउँदै आफ्ना गलत कामलाई तत्काल सच्याउन आग्रह गर्दछ । साथै श्रमजीवि पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न महासंघलाई सुझाव दिन चाहन्छ । नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका बैधानिक निकायमाथि यसैगरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवि पत्रकारको शीर निहु¥याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत यसै बिज्ञप्तीमार्फत दिन चाहन्छ ।
हामी चाहन्छौं–नेपाल पत्रकार महासंघले आफ्नो गलत कदम सच्च्यावस, श्रमजीवि पत्रकारका लागि भरोसायोग्य संगठन बनोस र आफ्नो साझा चरित्र कायम राख्दै राजनीति नगरोस ।’ हाम्रो यो सदासयतालाई कमजोरीका रुपमा लिए पत्रकार महासंघले गम्भीर मूल्य चुकाउनु पर्नेतर्फ पनि यसै बिज्ञप्तीमार्फत सचेत गराउन चाहन्छौं ।
हिरामान लामा
महासचिव
फरकबाटो ७ आश्विन २०७९, शुक्रबार १७:०५