कब्जामा रहेका युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गर्ने रुसको तयारी

रुसले आफ्नो कब्जामा रहेको युक्रेनका चार क्षेत्रमा जनमत संग्रहको तयारी गरेको छ। ​

युक्रेनको लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा मतदानको तयारी गरिएको हो। अधिकारीहरुका अनुसार यही सेप्टेम्बर २३ देखि २७ सम्म ती ठाउँमा मतदान हुनेछ।

लुहान्स्क शहरमा आगामी शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन्। मतदानका आधारमा रुसको कब्जामा रहेको युक्रेनका क्षेत्रहरू रुससँग विलय हुने नहुने भन्ने टुंगो लाग्ने बीबीसीले जनाएको छ।

युक्रेनले रुसको यो कदमलाई झुटो मानेको छ। युक्रेनले रुसले आफ्नो भूमि कब्जा गर्न यस्तो योजना बनाएको आरोप लगाएको छ।

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युक्रेनले आफ्नो क्षेत्रको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन्। नक्कली जनमत संग्रहले केही पनि परिवर्तन नगर्ने उनको भनाइ छ। युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए।