वायुसेवा निगमलाई साउदी अरेबियाको उडानको अनुमति

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

निगमलाई साउदीको नागरिक उड्डयन कार्यालय जनरल अथोरिटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

यस क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहित चार जना कर्मचारी साउदी जानु भएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाण्डौ–रियाद–काठमाण्डौ हप्तामा तीन दिन उडान गर्ने एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि साउदीमा हिमालय एअरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ ।

साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

निगम साउदी नगएकै कारण गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्थ्यो ।