सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि फेरि बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर पर्सि सोमवार बजेट ल्याउन लागेको जानकारी गराएका हुन् । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेको र त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उनले पत्रकार सम्मेलनमा बताएका हुन् ।
यसअघि नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको छ ।
मुख्यमन्त्री शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे बताए ।
यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ । समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन् । प्रदेश सरकार मातहतका कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।
फरकबाटो २८ भाद्र २०८१, शनिबार १७:३५