ली चान्शुसँग प्रचण्डले भने : नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिदैनौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्।

मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरेका हुन्।

बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए।

सो अवसरमा उनले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न आग्रह गरे। नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारता पूर्वक काम गर्नुपर्ने उल्लेख गरे।

दुई पार्टी बीचको सम्बन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाइ थियो।

प्रचण्डले भने, ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं। राष्ट्रपति सी जिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्।’

उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए।

चिनियाँ पक्षको तर्फबाट अध्यक्ष चान्शुले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरे।

उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताए।