कर्णाली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आईटीएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तोलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ।
त्यस्तै कुस्ती, हेण्डबल (महिला–पुरुष), टेबल टेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको र जिम्न्यास्टिकमाभाग लिनेछ।
यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ। प्रदेश सरकारले स्वर्णपदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ। परिषद् उपाध्यक्ष हमालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न गण्डकी प्रदेशबाट आयोजकको झण्डा ग्रहण गर्ने बताए।
लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ।

फरकबाटो २८ भाद्र २०७९, मंगलवार १०:५४