कर्मचारी कुनै पार्टीसंग जोडिनु हुँदैनः मन्त्री शाही

सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले सार्वजनिक पदमा रहेका कर्मचारी कुनै पार्टीसंग जोडिन नहुने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा बोल्दै उनले आफु कर्मचारी संघ संगठन खोल्ने मान्यतामा आफु नरहेको भन्दै कर्मचारी पनि कुनै पार्टीमा आवद्ध हुन नहुने बताएका हुन् ।

मन्त्री शाहीले कर्मचारीलाई कर्मचारी संरचना नचाहिने भन्दै सार्वजनिक पदमा नै रहेर काम गर्नु पर्ने बताए । मन्त्री शाहीले कर्मचारीलाई चाहिएको राष्ट्रवाद, राष्ट्रियवादीको वाद होकी माओवाद, काग्रेसवाद र एमालेवाद हो भन्दै प्रश्न गरेका थिए । सार्वजनिक पदमा रहेका सम्पुर्ण कर्मचारीले भष्ट्रचार नगरी कुनै पार्टीसँग नजोडिन आग्रह गर्दै निर्दिष्ट राष्ट्रको लागि काम गर्न अनुरोध समेत गरेका छन् । साथै निजामति सेवा दिवसको उपलक्ष्यमा सम्पुर्ण निजामति कर्मचारीको पदउन्नतिको कामना गर्दै शुभकामना व्यक्त समेत गरेका छन् ।

उक्त कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चन्द्रबहादुर शाहीले निजामति सेवा स्थायी सरकार भएको भन्दै सेवा अब्बल बनाउनु पर्ने बताए । निजामती सेवाबाट सेवाग्राहीले गुनासो गर्न थाले भने दिगो हुन नसक्ने उनको भनाई छ । पछिल्लो समय निजामति सेवामा थुप्रै गुनासाहरु आएको भन्दै उनले सेवादिने कुरामा ढिलासुस्ती नगर्न आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले निजामती सेवाको छवि पछिल्लो समय अलि धमिलिएको बताए । उनले आगामी दिनमा यसलाई उज्यालोमा ल्याउने कुरामा सबैको योगदान रहनु पर्ने उनको भनाई छ । उनले निजामति सेवा सरकारको प्रमुख सल्लाहकार भएको र देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउने एक पाटो भएको बताए ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा ‘व्यावसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ आज निजामति सेवा दिवस मनाइएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका निजामति कर्मचारीको सहभागिता रहेको थियो ।