
सुर्खेत । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । भिडन्तमा प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाही सामान्य घाइते भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।
डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो ।
लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो ।
डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साभार : अनलाइन खबर

फरकबाटो १९ भाद्र २०७९, आईतवार १०:०४