सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रले पछिल्लो समय गति लिएको छ । २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा गति लिएको हो ।
सानो लगानीबाट सुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग स्थापना हुन थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कसप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी उद्योग छन् ।
कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले अहिले एक करोड रुपैयाँभन्दा लगानीका उद्योगहरू स्थापना भएको बताए । त्यस्तो लगानीका चारवटा उद्योग निर्माणाधीन छन् । कर्णाली कोल्डचेन लजिस्टिक उद्योग २० करोडमा निर्माण हुँदै गरेको उनले जानकारी दिए । उनका अनुसार सुरक्षा ग्याबिन र पीएन फुड्स एक/एक करोडमा लगानी निर्माण हुँदै छन् । प्लास्टिकजन्य उद्योगसम्बन्धी एमके नेपाल उद्योग २५ लाखमा निर्माणाधीन छ ।
पछिल्लो समय सुर्खेत डेरी उद्योग १५ करोड, भवानी छापाखाना ५० लाख र गङ्गामाला काष्ठ तथा फर्निचर उद्योग ३० लाखको लगानीमा सञ्चालनमा आएका छन् । ९० रोपनीको क्षेत्रफल रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पाँचवटा औद्योगिक भवन छन् । २७ वटा उद्योग छन् । त्यसमध्ये २१ वटा उद्योग सञ्चालनमा रहेको उनले बताए । पाँचवटा व्यावसायिक सटर रहेको र सबै संचालनमा रहेको उनले जानकारी दिए । औद्योगिक क्षेत्रमा ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको प्रमुख बञ्जाडेको भनाई छ । दुईवटा उद्योग कब्जामा लिएर उद्योगको मूल्याङ्कन भइरहेको उनले बताए ।
उद्योगहरुमा लगानी बढेसँगै औद्योगिक क्षेत्रको आम्दानी पनि बढेको छ । औद्योगिक क्षेत्रले आर्थिक वर्ष २०७७÷७८ मा ५३ लाख २५ हजार आम्दानी गरेको प्रमुख बञ्जाडेले जानकारी दिए । औद्योगिक क्षेत्रको ५०० मिटर सडक कालोपत्रे गरिएको र अब ३०० मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको उनले बताए । औद्योगिक क्षेत्रमा ७०० मिटर पर्खाल लगाउने काम भएको छ । उहाँले भौतिक पूर्वाधार राम्रो हुँदै गएको उनले बताए । “लगानी गर्ने क्रम बढ्दो छ । पुराना बन्द भएका उद्योगलाई खारेजी गरेर नयाँ स्थापना भएका छन् । औद्योगिक पूर्वाधारमा राम्रो भएको छ । ” उनले भने ।
फरकबाटो २३ कार्तिक २०७८, मंगलवार १०:०६