शिक्षक अस्पताल बनाउँदै सरकार

काठमाण्डौं । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु हुने उनको भनाई छ ।

समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।