चोलेन्द्रलाई महाअभियोग सिफारिस समितिले के-के सोध्दैछ प्रश्न

सुर्खेत । महाअभियोग सिफारिस समितिले बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिँदैछ ।

बयानअघि समितिले प्रमाणहरु संकलन गरेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरु प्राप्त भएका छन् । संकलित प्रमाणलाई एकत्रित गरेर समितिमा रहेका सदस्यहरुलाई वितरण गरिएको छ । अझै कसैले प्रमाण दिए त्यसलाई पनि समावेश गरेर अध्ययन गरिने समिति सचिवालयले जनाएको छ ।

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।

समिति सदस्य र समिति सचिवालयका अनुसार जबरालाई सोधिने प्रश्नहरुमा सबैभन्दा माथि भ्रष्टाचार गरेको र भ्रष्टाचारको आडमा गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धी छ ।