करारका जनशक्तिको भर, उत्कृष्ट सेवा

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले करारका जनशक्तिको भरमा सेवा प्रदान गर्दै आएको छ । अस्पातलमा स्थायी दरबन्दीमध्ये २२ प्रतिशत मात्रै पदपूर्ति भएको छ । प्रदेशमा तीनसय २५ दरबन्दीमध्ये ७२ जनाको मात्रै पदपूर्ति भएको हो ।

अहिले अस्पतालमा एकसय १४ जना कर्मचारी करारमा कार्यरत छन् । स्थायी र करार गरेर एकसय ८८ जना जनशक्ति भए पनि अझै एकसय ३७ पद रिक्त छ । कर्मचारी अभाव भए पनि अस्पतालले भने उत्कृट सेवा प्रदान गर्दै आएको जनाएको छ । प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले कर्मचारीको अभाव भए पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको दावी गर्नुभयो ।

पहिलेको तुलनामा प्रदेश अस्पतालले करारमा कर्मचारी लिएर भए पनि अब्बल सेवा दिँदै आएको छ । करारका कर्मचारीलाई प्रदेश अस्पताल र अस्पताल व्यवस्थापन समितिले तलब दिँदै आएको छ । अस्पतालले बिहान ९ बजेदेखि ४ बजेसम्म ओपिडि सेवा दिँदै आएको छ । अस्पतालले पछिल्लो समय अत्याधुनिक मेसिन तथा औजारसहित विशेषज्ञ वार्डको सुरुवात गरेको छ । अस्पतालमा ठूलो क्षमताको एउटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र एकवटा अक्सिजन प्लान्ट निर्माण हुँदैछ ।

निर्देशक डाक्टर खड्काले दिएको जानकारी अनुसार प्रदेश अस्पतालमा प्रमुख कन्सल्टेन्ट डाक्टरको दरबन्दी १५ जनामध्ये दुईजना मात्रै स्थायी पदपूर्ति भएको छ । विशेषज्ञ डाक्टर ३६ जनाको दरबन्दी छ । त्यसमध्ये चार जनाको मात्र स्थायी पदपूर्ति भएको छ । अस्पतालले १३ जना विशेषज्ञ डाक्टरलाई करारमा राखेर सेवा दिएको छ । नर्सिङ अधिकृत दरबन्दी १२ मध्ये तीनजना स्थायी दरबन्दीबाट पदपूर्ति र आठजना करारमा राखेर सेवा दिइएको हो । अहिले प्रदेश अस्पतालको क्षमता तीनसय बेड रहेको छ । यसलाई पाँचसय बेड पु¥याउने तयारीमा प्रदेश अस्पताल छ । अस्पतालले विशेषज्ञ डाक्टरदेखि नर्स, पारामेडिक्सलगायत कर्मचारीहरु राखेर सेवा दिएको जनाएको छ । जनशक्ति परिपूर्ति गर्न प्रदेश सरकारसँग पहल गरिरहेको निर्देशक डा. खड्काको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले जनशक्ति अभावका बाबजुद पनि गुणस्तरीय सेवा दिँदै आएका छौँ । यहाँ न्यूरो सर्जन सेवा, जटिल खालका घाँटी, मेरुदण्ड लगायतका अप्रेसनहरु यहीँबाट गर्न सुरु गरेका छौँ ।’
अस्पतालमा बालरोग कक्ष, क्यान्सर तथा मुटुका बिरामीहरुको उपचार, एमआरआई लगायतका सेवाहरु सुरु गर्ने तयारी भैरहेको निर्देशक डा. खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी थालिएको उहाँको भनाइ छ ।