ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर एमाले चुनावमा जाने, आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन

काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ललितपुरमा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको हो ।

उपमहासचिव प्रदिप ज्ञवालीले राखेको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेसँगै आउँदो चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चिनाएर प्रचार प्रसार गर्ने भएको हो । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । बैठकमा अध्यक्ष ओलीले चुनावका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई निर्देशन दिएका छन् । उनले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिनुभएको केन्द्रीय सदस्य आशाकुमारी विकले जानकारी दिए ।

पालिका चुनावमा पार्टीभित्रकै घातले केही पालिकामा हारेको भन्दै ओलीले आउँदो चुनावमा टिकट नपाउनेले चित्त नदुखाइकन टिकट पाएका उम्मेदवारलाई जिताउनुपर्ने बताए । यस्तै, नेकपा एमालेले आउँदो चुनावमा उम्मेदवार छनोटका ५ वटा मापदण्ड बनाउँदै भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पनि निर्देशन दिएको छ । बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

उम्मेदवार छनोट गर्दा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गरी ५ वटा मापदण्डलाई ख्याल गर्न केन्द्रीय कमिटी बैठकले निर्देशन दिएको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।