समुद्रमा जैविक विविधता संरक्षणका लागि सम्झौता गर्न संयुक्त राष्ट्र संघ फेरि पनि असफल

संयुक्त राष्ट्रसंघका सदस्य देशहरु समुद्रमा जैविक विविधताको संरक्षणका लागि सम्झौता गर्न फेरि पनि असफल भएका छन् । समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ता लामो वार्ता आशा गरिए विपरीत सकिएको समाचार संस्था एएफपीले जनाएको छ ।

न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अगस्ट १५ मा सुरु भएको बैठकबाट राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी सहमती जुट्नेमा धेरै आशावादी रहेका थिए । बढ्दो पर्यावरणीय र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न सम्झौताका लागि सहभागीहरूले पहल गरे पनि अन्तर्राष्ट्रिय जलक्षेत्रमा आइपर्ने थुप्रै मुद्दाहरूलाई सम्बोधन गर्न नसकेका हुन् ।

यस्तो सम्झौताका लागि १५ वर्षदेखि भइरहेको प्रयासमा चार वटा औपचारिक बैठक भइसकेका छन् । सम्झौता हुन नसक्नुमा अन्तर्राष्ट्रिय पानीमा आनुवंशिक संसाधनहरूको विकासबाट हुनसक्ने लाभ बाँडफाँडको विषय मुख्य रहेको छ । त्यहाँ औषधि तथा उपचारका वस्तुहरु फेला पार्ने आशा गरिएको छ ।