रुसी विदेशमन्त्री लाभ्रोभको अभिव्यक्तिप्रति पुटिनले माफी मागे : इजरायल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले हिटलर पनि यहुदीको हिस्सा भएको भनेर दिएको अभिव्यक्तिप्रति माफी मागेको इजरायलले जनाएको छ ।

पुटिनले इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । यद्यपि यो टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले गएको आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा हिटलर पनि यहुदीको हिस्सा भएको प्रतिक्रिया दिनुभएको थियो । यो अन्तर्वार्ता लगत्तै इजरायलले रुसी विदेशमन्त्रीले माफी माग्नुपर्ने बताएको थियो ।

इजरायलले रुस र युक्रेनबीच भइरहेको युद्धमा मध्यस्थताको प्रयास समेत गर्दै आएको छ ।