मलेसियाका पूर्वप्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि रजाक १२ वर्षका लागि जेल चलान भएका हुन् ।

प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताउनुभएको छ । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी सन् २०२० मा मलेसियाली अदालतबाट दोषी ठहर भएका थिए । सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपीलपछि जमानतमा रिहा भएका थिए । आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको बीबीसीले जनाएको छ ।

अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन वान एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेश्नलबाट रजाकको व्यक्तिगत खातामा पठाइएको थियो । अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो । रजाकका वकिलहरूले उनको निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको दाबी गरेका थिए ।

रजाककी श्रीमती रोश्मा मन्सुरले पनि सम्पत्ति शुद्धीकरण र एक सौर्य ऊर्जा परियोजनामा कर छलीको फरक मुद्दाहरू खेपिरहेकी छिन् । तर यसमा आफू दोषी नभएको उनको दाबी छ । उच्च अदालतले सेप्टेम्बर १ मा उनीमाथि चलिरहेको मुद्दामा पनि फैसला सुनाउने तय गरेको छ ।