लखनउको एक होटलमा आगलागी हुँदा दुई जनाको ज्यान गयाे

भारतकाे उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।