बीमाकाे लाेभले टिपरमा आगाे लगाएकाे आराेपमा गाडीधनीसहित ३ जना पक्राउ

दाङ । दाङमा बन्दको नाममा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले गाडीधनीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका ८ पीपरी बस्ने ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।

पक्राउ परेका गाडीधनीले टिपर पुरानो भएर जीर्ण भएका कारण बीमा दाबी गर्न आगाे लगाएकाे बयान दिएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपासहित चार सङ्गठनले आह्वान गरेकाे नेपाल बन्दको मौका पारेर उनीहरूले घोराही–लमही सडकको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान ५ बजे आगाे लगाएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय दाङले दिउँसो घोराहीमा गरेको पत्रकार सम्मेलनमा टिपरमा डिजल खन्याएर आगो लगाएलगत्तै उनीहरूले लमही जाँदै गरेको टिपरमा बन्दकर्ताले आफूलाई सिटबाट ओरालेर आगो लगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबर गरेलगत्तै गएको प्रहरी टोलीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

यस्तै दाङमा बन्द गराउँदै हिड्ने १५ जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । दाङको घोराही र तुलसीपुरबाट चार/चार जना र लमहीबाट सात जना पक्राउ परेका हुन् ।