काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचनमा पार्टीमा भएको अन्तर्घातबारे छानबिन गर्न बनाएको छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा छानबिन कार्यदलका संयोजक टंक राईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हुन्।
कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिवेदन अध्ययन गरेर कारवाही प्रक्रिया अघि बढाउने बताए। कार्यदलले कसैलाई निष्कासन, कसैलाई निलम्बन र कसैलाई चेतावनी दिनुपर्ने सुझाव दिएको बताए।
प्रचण्डले भने, ‘‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गडबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने यो प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन।’
पार्टीलाई अन्तर्घात गर्ने दोषीलाई कारवाही नगरेर समाजवादको यात्रा सम्भव नभएको बताए।
‘हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ। यो छानबिन नगरीकन दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडी नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र हामीले जे सपना देखेका छौँ समाजवादतिरको यात्रा सम्भव छैन। त्यसकारण हाम्रो पार्टी केन्द्रले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै यो छानबिन समिति बनाएको हो’ उनले भने।
उनले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताए।
फरकबाटो ६ भाद्र २०७९, सोमबार १८:१४