आसन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवालमा छलफल कार्यक्रम सम्पन्न

सुर्खेत । आसन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । समता फाउडेशनको आयोजनामा साझेदारी सशक्तिकरणको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

३३.२५ प्रतिशत दलितहरुको जनसंख्या भएको कर्णाली प्रदेशमा जनसङ्ख्याको आधारमा राजनीतिक दलमा दलित प्रतिनिधित्व हुनु पर्ने छलफल कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मङ्शिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दलित प्रतिनिधिको सहभागिता कस्तो रहने कर्णालीका विभिन्न राजनीतिक दलहरु सँग छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी कर्णाली प्रदेश सभा सांसद राजु नेपालीले कर्णाली प्रदेशमा जातिय छुवाछुत धेरै हुने र यसको अन्त्यका लागी राजनीतिक दलमा र विभिन्न मन्त्रालयमा दलित प्रतिनिधिको पहँुच हुन जरुरी भएको बताईन् ।

सांसद रातो कामीले एउटा टिकटको लागी पनि हार गुहार गर्नु पर्ने दलित भएकै कारण टिकट पाउन गाह्रो हुुने र पाईहाले पनि आर्थिक समस्याका कारण चुनाव हार्नु पर्ने अवस्था भएको बताए ।

जातिय समता समाज सुर्खेत जिल्लाका हिरालाल सुनारले नेतृत्वमा पुग्नको लागी पहिला आँफु सक्षम हुनुपर्ने र समाजलाई परिवर्तन गर्नको लागि राज्यका विभिन्न अङ्गमा दलित प्रतिनिधि पुग्नु पर्ने सुनाए ।

नेकपा एकिकृत समाजवादीका कर्णाली अध्यक्ष मन बहादुर थापाले जातिय छुवाछुत अन्त्यको लागी दलितले मात्र आन्दोलन गरेर सम्भव नहुने तर्क गरे ।

कार्यक्रममा सहभागी अधिकाँशहरुले नेतृत्वमा दलित समुदायको पहुँचका लागि राजनीतिक दलहरुबाटै सुरुवात गरिनुपर्ने बताएका थिए ।

समता फाउडेशनका अध्यक्ष प्रदिव परियारले एउटा कुकुरलाई घर भित्र जान दिने तर एउटा मानवले अर्को मानवलाई घर भित्र पस्न नदिने संस्कारको अन्त्य गरिनुपर्ने बताए ।

कार्यक्रममा दलितको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा कर्णाली प्रदेश सभा सांसद र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।