अख्तियारमा बढ्दै उजुरी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ४५ उजुरी दर्ता भए । आर्थिक वर्ष २०७८/०७९ मा भने ७ सय ८७ मुद्धा दर्ता भए । जसमा दुवै आर्थिक वर्षमा सबैभन्दा बढी सुर्खेत जिल्लाकै उजुरी दर्ता भएका थिए ।

संघीय, प्रदेश र स्थानिय तह अन्तर्रगतका कार्यालयहरुका अनियमितता सम्बन्धी उजुरी आयोगको कार्यालयमा दर्ता भएका हुन् ।
दुई आर्थिक वर्षमा गरी जम्मा १ हजार ४ सय ३२ उजुरी आयोगको कार्यालयमा दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेत जिल्लाको १ सय १६ उजुरी, दैलेख जिल्लाको १ सय १५, जाजरकोटको ७४, कालिकोटको ७२, जुम्लाको ७२, मुगुको ५०, हुम्लाको ३०, रुकुम पश्चिमको २९ र रुकुम पुर्वको १ गरी ६ सय ४५ उजुरी दर्ता भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा सुर्खेत जिल्लाबाट १ सय ७७, दैलेखबाट १ सय २५, सल्यानबाट ९५, जाजरकोटबाट ७१,कालिकोटबाट ७१,जुम्लाबाट ६४, मुगुबाट ४६, हुम्लाबाट ६४, डोल्पाबाट ४४, रुकुम पश्चिमबाट २६ र रुकुम पुर्वबाट चार गरी ७ सय ८७ उजुरी दर्ता भएका हुन् ।

दुई आर्थिक वर्षमा जम्मा १ हजार ४ सय ३२ उजुरी दर्ता भएकोमा ९ सय ९ वटा उजुरी फछ्र्यौट गरिएको र ५ सय २३ उजुरी बाँकी रहेका हुन् ।

जसमा सुर्खेत जिल्लाको कुल २ सय ९३ उजुरी मध्ये २ सय ८ उजुरी फछ्र्यौट भएका छन् भने ८५ उजुरी फछ्र्यौट हुन बाँकी छन् । दैलेख जिल्लाको कुल २ सय ४० उजुरी मध्ये १ सय ५६ उजुरी फछ्र्यौट भएका छन् भने ८४ फछर्यौट हुन बाँकी छन् ।

सल्यान जिल्लाको कुल १ सय ५० मध्ये ८३ फछर्यौट भएका छन् भने ६७ फछर्यौट हुन बाँकी रहेको कार्यालयले बताएको छ ।
यस्तै जाजरकोटको कुल १ सय ४५ उजुरी मध्ये ८५ फछ्र्यौट भएका छन् भने ६० फछ्र्यौट हुन बाँकी छन् । कालिकोट जिल्लाको कुल १ सय ४३ उजुरी मध्ये १ सय ३ उजुरी फछर्यौट भएका छन् भने ४० फछर्यौट हुन बाँकी छन् । जुम्लाको कुल एक सय ३६ मध्ये ८६ फछर्यौट भएका छन् भने ५० फछर्यौट हुन बाँकी रहेका हुन् ।

यस्तै मुगु जिल्लाको कुल ९६ उजुरी मध्ये ५७ फछर्यौट भएका छन् भने ३९ फछर्यौट हुन् बाँकी छन् । हुम्लाको ९४ उजुरी मध्ये ६७ फछर्यौट भएका छन् भने २७ बाँकी छन् । डोल्पाको ७५ उजुरी मध्ये ४० उजुरी फछर्यौट भएका छन् भने ३५ फछर्यौट हुन बाँकी छन् ।

यस्तै रुकुम पश्चिमको कुल ५५ उजुरी मध्ये २० फछर्यौट भएका छन् भने ३५ हुन् बाँकी छन् । रुकुम पुर्वको कुल ५ उजुरी मध्ये ४ उजुरी फछर्यौट भएका छन् भने एक फछर्यौट हुन् बाँकी छ ।

उक्त तथ्याँक आर्थिक वर्ष २०७८/०७९ को रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले जानकारी दिए ।

प्रारम्भिक छानबिन तर्फ आ.व. २०७७/०७८ मा ४७ प्रतिशत उजुरी फछर्यौट रहेकोमा आ.व. २०७८/०७९ मा ६३. ४८ प्रतिशत उजुरी फछर्यौट भएका हुन् ।

विस्तृत अनुसन्धान तर्फ कुल जम्मा २ सय ९१ उजुरी मध्ये ९४ वटा उजुरीको आ.व.२०७७/०७८ मा अनुसन्धान सकिएको र हाल १ सय ९७ वटा उजुरीको अनुसन्धान भैरहेको कार्यालयले जानकारी दिएको छ ।