गठबन्धन रहर होइन, कर र डरले हो : रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।

‘कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे।

उनले को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले  निर्णय नभएको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ
‘तलको जनमत हेरेर निर्णय लिन्छौँ’, उनले भने, ‘कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।’ कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे।

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले यो  निर्णय लिने जिम्मा पार्टीको भएको बताए। अहिले नै घोषणा गर्ने समय नभएको उनको भनाइ छ।

फरक प्रसंगमा  उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोक्न नहुने तर्क गरे।