पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डको जित

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीबार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।

उसका लागि शामरन ब्रुक्सले ४२ तथा रोमारियो सेफर्डले अविजित रहदै ३१ रन बनाए । ओडन स्मिथले अविजित २७ तथा जासन होल्डरले २५ रन बनाए ।

भ्रमणकारी टोलीका लागि मिचेल स्टानेरले ३ तथा ट्रेन्ट बोल्ट,टिम साउदी,ईश सोधी र लक्कि फकुर्सनले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

उसका लागि कप्तान केन विलियम्सनले अविजित ४७ तथा डिभेन कन्वेले ४३ रन बनाए । जेम्स निसमले अविजित ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए ।

ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६/१६ रन बनाए । घरेलु टोलीका लागि ओडेन स्मिथले ३ तथा जासन होल्डर र ओबेड म्याकोईले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी खेल शनिबार हुनेछ ।