उत्तरपुस्तिकामा मोबाइल नं लेखेपछि लोकसेवामा दुईवर्ष अयोग्य

सुर्खेत । प्रदेश लोक सेवा आयोग कर्णालीले गत साउन ४ गते सञ्चालन गरेको अ.हे.ब को परीक्षामा परीक्षार्थीले उत्तरपुस्तिकामा आफ्नो मोबाइल नं लेखेर फोन गर्न अनुरोध गरेपछि आयोगले दुईवर्षका लागि अयोग्य ठहराएको हो ।

आयोगको साउन १६ गते बसेको बैठकले सिद्धकुमाख गाउँपालिका २ सल्यानका नविन कुमार रेउलेलाई उक्त परीक्षा रद्ध गरी दुईवर्षसम्म आयोगले लिने कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी अयोग्य ठहराएको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द भएको आयोगले जनाएको छ ।

उक्त ऐनअनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनहरूमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ।