सुर्खेत । सोमबार मालपोत कार्यालय सुर्खेतको खुल्ला चौरमा नौ–जनाको परिवार हाँसीखुशी लालपुर्जा बाँडिरहेको थियो । देख्नेहरु सबैलाई छोराबुहारी अंश लिन पाएपछि खुशी देखिएको होलान् भन्ने नै लाथ्यो ।
तर त्यहि भिडबाट एकजनाले ‘ए माइली दिदि यो तिम्रो लालपुर्जा हो है , राम्रोसंग राख । यो काजग पनि चाहिन्छपछि यो पनि राख । एक कान्छि ला तेरो लालपुर्जा , ठुलीदिदीलाई पनि दे त ला’ यसरी नै दिदि–बहिनीहरुलाई लालपुर्जा बाँडिरहेको दृश्य देखेपछि मेरो ध्यान त्यो परिवारतर्फ गयो ।
त्यसरी लालपुर्जा वितरण गर्ने वीरेन्द्रनगर १० रहरपुर सुर्खेतका लालबहादुर चौधरी रहेछन् ।
अनी मैले नजिकै गएर सोधें ! तपाईहरु पैत्तृक सम्पत्ति भाग लगाउन आउनु भएको हो ? अनी तपाईहरु छोरीकी बुहारी त ?
त्यसैमा एकजना दिदिले हामी छोरी हौं बुहारी होइनौं । बुवा र दाई–भाईले हामी छोरीहरुलाई पनि सम्पत्ति दिन्छौं भनेर यहाँ ल्याउनु भएको हो । यि हेर्नुहोस् यहि हो लालपुर्जा ।
पैत्तृक सम्पत्ति पाएको खुशीमा लालबहादुरकी माइली दिदि धनकुमारी चौधरीले मलाई लालपुर्जा देखाईन् । अनी उनले कुरा गर्न सुरु गरिन् ।
‘हाम्रो समाजको कुन छोरीले पो पैतृक सम्पत्ति प्राप्त गरेका थिय र ? माइतीको सम्पत्ति जती भएपनि बिहेपछि सबै छोरीहरुले श्रीमान्कै सम्पत्तिको आश गर्नुपर्छ । त्यसैले पनि हामीहरुले बुवाको सम्पत्तिको आस कहिल्यै गरेनौं ।’
धनकुमारीले भनिन् “एक्कासी भाईहरुले फोन गरेर दिदी पैतृक सम्पत्ति भाग लगाउने हो मालपोत जाऊँ भन्दा खुशीले आँसुनै खसे ।”
वीरेन्द्रनगर नगरपालिका वडा नं १० रहरपुर सुर्खेतका ७७ वर्षीय बुद्धिराम थारुले सोमबार आफ्ना चारभाई छोरा सहित तिनबहिनी छोरीलाई पनि मालपोत कार्यालय सुर्खेतमा सम्पत्ति भागबण्डाका लागि लगे ।
श्रीमती मस्ती थरुनी सहित नौ जना नै वडा नं १० को कार्यालयबाट शिफारिस सहित मालपोत कार्यालयमा पुगे । कृषी गरेर आर्जेको २२ कठ्ठा जमिन छोरालार्ई भाग लगाउँदा बुद्धिरामले छोरीलाई पनि छुटाएनन् । त्यसमा उनका चारैभाई छोराहरुले साथ दिए । बरु बुद्धिरामले बुढाबुढीका लागि भने जम्मा दश मिटर घडेरी मात्र राखे ।
‘छोरीहरुलाई पढाउन सकिएन’ बुद्धिरामले भने “ छोरीपनि मेरै रगत हुन् । मेरो सम्पत्तिमा छोरा–छोरी सबैको बराबर अधिकार छ । मैले सम्पत्ति छोरीलाई पनि दिएँभने मरेपछि पनि सम्झिन्छन् ।”
श्रीमान्को कुरा नसकिँदै श्रीमती मस्ती थरुनीले थपिन् “ पैत्तृक सम्पत्ति छोरालाई मात्रै दिँदा जिन्दगीभर छोरीहरु अरुको दास हुन्छन् । त्यसैले छोरीलाई पनि सम्पत्तिको मालिक बनाउनुपर्छ ।”
उसो त छोरीहरुलाई पनि ज्वाईंहरुले राम्रै व्यवहार गर्ने गरेको मस्तीले सुनाईन् । तरपनि आँफुले कमाएको सम्पत्तिमा छोरीको पनि हक लाग्ने उनले बताईन् ।
बुद्धिराम थारुका तिनबहिनी छोरी र चारभाई छोरा छन् । छोराहरुले नै दिदिहरुलाई पनि सम्पत्ति दिनुपर्छ है बुवा भन्दा अझै सजिलो भएको उनले सुनाए ।
कानुनले पैत्तृक सम्पत्तिमा छोरा–छोरी दुबैको अधिकार बराबर गरेपनि व्यवहारत हाम्रो नेपालमा अझैपनि पैत्तृक सम्पत्तिमा छोरीहरुको अधिकार छैन । तर वीरेन्द्रनगर १० का बुद्धिराम थारुले भने छोरीहरुलाई समेत पैत्तृक सम्पत्तिको अधिकार दिलाएका छन् ।
उनकी जेठी छोरी सीता चौधरीले आँफुहरुलाई यसरी बुवा–आमा र भाइहरुले सम्पत्ति भागलगाउँदा बोलाएर सम्पत्ति दिन्छन् भन्ने कुरा सोच्दै नसोचेको बताईन् । ‘छोरीलाई कसैले सम्पत्ति दिएको भएपो आँफुले पनि पाइन्छ भन्ने आश लाग्थ्यो’ उनले भनिन् “हामीहरुलाई बुवा–आमाले यसरी सम्पत्ति दिएपछि हाम्रा छोरीहरुलाई पनि हामीहरुले दिनुपर्छ ।”
वीरेन्द्रनगर नगरपालिका वडा नं ९ कालिमाटीमा बिवाह गरेर गएकी सीताले पहिला –पहिला दाइजोको रुपमा भाँडा दिने चलन भएपनि यसरी सम्पत्ति नै दिने चलन भने नभएको सुनाईन् । बिवाह भएको बिसौंवर्षपछि माइलीले सम्पत्ति दिँदा खुशीको आँसुनै झरेको उनले सुनाइन् ।
बुद्धिरामकी कान्छि छोरी तारा चौधरीले छोरीलाई सम्पत्ति दिने बुवा–आमाको ईच्छा हुँदाहुँदै धेरैका दाजु–भाईले नै विरोध गर्ने गरेपनि आँफुहरुलाई भने दाईहरुले नै बोलाएर सम्पत्ति भाग लगाउँ भन्दा खुशीको सिमा नभएको बताईन् ।
तिनबहिनीको नाममा एक–एक कठ्ठा खेत भाग लगाईदिएर बाँकी चार दाजुुभाईलाई र बुवाआमाले जिउनी राखेको उनले सुनाईन् ।
‘बराबर सम्पत्ति खोज्नु पनि हुँदैन’ उनले भनिन् “जती भएपनि पैत्तृक सम्पत्ति छोरीलाई दिन सुरुवात गर्नुनै सबल पक्ष हो । धेरैले छोरीलाई आफ्नो सम्पत्ति दिँदा अर्काको छोराको रँजाई हुन्छ भन्ने सोच राख्ने गरेको उनले सुनाईन् ।
बुद्धिरामका साँइला छोरा लालबहादुर चौधरी समाजसेवी समेत हुन् । उनले संविधान मै पैत्तृक सम्पत्तिमा छोरा–छोरी दुबैको अधिकार हुनेछ भनेर उल्लेख गर्दा समेत जानेबुझेकै सामाजिक अभियान्ताहरुले नै आफ्ना दिदि–बहिनी र छोरीहरुलाई सम्पत्ति नदिने गरेको बताए ।
‘खुल्ला मञ्चमा लैगिंक समानताको वकालत गर्नेहरु नै विभेदकारी छन्’ उनले भने “ कम्तीमा बराबर सम्पत्ति दिन नसकेपनि सुरुवात त गरौं । अनी हुन्छ लैगिंक समानता कायम ।”
अबिवाहित छोरीलाई सम्पत्ति दिने कुरामा पछिल्लो समय केही अभिभावकहरु राजी भएपनि बिवाहित छोरीहरुलाई भने सम्पत्ति नदिने गरिएको उनले बताए । २०७४ पछि लागु भएको कानुनको त्रासले पनि सम्पत्ति दिनुपर्छ भन्ने सोच आएको उनले अनुमान गरे ।
‘मेरो सबै दिदिहरुको बिवाह भएको दशौंवर्ष भयो’ उनले थपे “सम्पत्ति कानुनको डरले भन्दा प्रेमले दिनुपर्छ ।” भाषणले मात्रै समाज परिवर्तन र कानुन कार्यान्वयन नहुने उनले तर्क गरे ।
नेपालको संविधान २०७२ को मौलिक हक धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ । जसको उपधारा ५ मा पैत्तृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भन्ने स्पष्ट उल्लेख छ । तरपनि नेपालका अधिकाँश छोरीहरुको पैत्तृक सम्पत्तिमा पहुँच छैन ।
सीता वली ३ असार २०७९, शुक्रबार १२:१७