
सुर्खेत । मंगलगढी–लाटिकोइली सडक तत्काल निर्माण र बिस्तार गर्नुपर्ने माग सहित स्थानिय युवाहरुले विरोध र्याली निकालेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मंगलगढी युथ क्लबले बुधबार विरोध र्याली निकालेको हो ।
र्यालीपश्चात् भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा ज्ञापन पत्र समेत बुझाईएको छ । बिगत चारवर्षदेखी अलपत्र रहेको मंगलगढी देखी लाटिकोइलीसम्मको सडक तत्काल निर्माण र बिस्तार गर्नुपर्ने उनीहरुले माग राखेका हुन् ।
क्लबका अध्यक्ष धनराज शाहीका अनुसार सडकमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना हुने र नागरिकहरुलाई समेत सास्ती भएकोले सडक तत्काल निर्माणमा दबाब दिइएको हो । कर्णाली प्रदेश सरकारले वडा नका ९ बासीको आवाज नसुने थप दबाबमुलक कार्यक्रमहरु गर्ने उनले बताए ।
सुर्खेत जिल्लाको प्रख्यात पर्यटकिय स्थल क्षेत्रमा जाने उक्त सडकका कारण पर्यटकहरुमा समेत कमी आएको स्थानिय बासीहरुको भनाई छ । कर्णाली प्रदेशको राजधानी मै सडकको दुर्दशा भएपनि सरकारको ध्यान भने नपुगेको हो । लामो समयदेखी निर्माणाधीन अवस्थामा रहेको उक्त सडक निर्माणमा सरकारले चासो दिएको छैन ।

फरकबाटो १७ कार्तिक २०७८, बुधबार २३:३३