युरोपेली देशहरु ग्यासको प्रयोग घटाउन सहमत

एजेन्सी । युरोपेली संघ ईयूका सदस्यहरु ग्यास प्रयोग कटौति गर्न सहमत भएका छन्।

रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेमा आगामी अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन युरोपेली देशहरु सहमत भएका हुन्। ईयूले यो सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको जनाइएको छ। साथै युरोपेली राष्ट्रहरुको संगठनले ‘ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको’ भन्दै रुसलाई चेतावनी समेत दिएको छ।
ग्यासको खपत गर्न नसक्ने कतिपय देशलाई बाध्यकारी नबनाइने अधिकारीहरुले जनाएका छन्। तर आपूर्ति संकटको तहमा पुगेको अवस्थामा यो स्वैच्छिक सहमति बाध्यकारी हुने भनिएको छ। ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी हुने छैन।

उनीहरूसँग आपूर्तिको वैकल्पिक स्रोत नभएकाले छुट दिइएको जनाइएको छ। युरोपेली विद्युतीय प्रणालीमा नजोडिएका र विद्युत् उत्पादनका लागि पनि ग्यासमा निर्भर रहेका अरु बाल्टिक राष्ट्रहरूलाई पनि यो बाध्यकारी लक्ष्यमा छुट हुनेछ।

ग्यासको भण्डारण लक्ष्य पूरा गरिसकेका देशहरुले पनि यो सहमतिबाट छुटका लागि आग्रह गर्न सक्नेछन्।