बाबुरामजी कुनै हालतमा गठबन्धन छाड्ने पक्षमा हुनुहुन्न : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन्।

उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए। गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनको भनाइ छ।

‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौँ। पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो’ उनले भने।

आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको प्रचण्डको भनाई छ।

‘कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन’ उनले भने, ‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि! यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको।’

उनले डा. भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि गठबन्धनमै रहेको स्पष्ट पारे। भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको उनकाे भनाइ छ।