एसियाली क्याडेट तथा जुनियर जुडोमा नेपालका ४ खेलाडी

काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजना हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपको क्याडेटमा २ र जुनियरमा २ गरी ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा क्याडेट÷जुनियरमा १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

साउन १ देखि ७ गतेसम्म हुने च्याम्पियनसिपमा जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन् ।

घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।

च्याम्पियनसिपका लागि ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार बिदाइ गरेका छन् ।  सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीलाई हौसला दिएका थिए।

नेपाली टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहेका छन् ।

टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसंग बैंकक जाने छन् ।