नेपालले आज अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ ।

नेपालले आज अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ८:१५ बजे  सुरु हुनेछ ।

यस्तै नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्ने छन् । सिरिजको तयारी स्वरूप नेपाली टोलीले दुई अभ्यास खेल खेल्न लागेको हो । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।