काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।
स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।
स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।
रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे । स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए । त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा सफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।
फरकबाटो ३० असार २०७९, बिहीबार १०:११