राष्ट्रिय एथलेटिक्समा गाेपी र सन्ताेषीलाई स्वर्ण

काठमाडौं । ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरमा एपिएफ क्लबका गोपीचन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी विजेता बनेका हुन् ।

गोपीले निर्धारित दूरी ८ मिनेट २९.५ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारे । यस्तै, आर्मीका मुकेश पालले ८ मिनेट ३०.० सेकेण्डकाे समय निकाल्दै रजत जित्दा आर्मीकै दीपक अधिकारीले ८ मिनेट २८.० सेकेण्डको समय निकाल्दै कास्य हात पारे ।

सन्तोषीले निर्धारित दूरी १० मिनेट ६. ०७ सेकेण्डमा पूरा गरिन् । यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४ सेकेण्डसहित रजत जित्दा कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य हात पारिन् ।

नेपाल एथलेटिक्स संघकाे आयोजनामा जारी प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी, सशस्त्र) गरी १० टाेलीबाट २४० खेलाडीको सहभागी छन् ।