सुर्खेत । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।
बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ ।
यती एयरलाइन्सले ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ ।
श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए । ‘हेलिकोप्टर त बिहानैदेखि अपरेसनमै छ, हवाईजहाज भने ११ बजेदेखि नियमित सेवामा हुन्छ,’ उनले भने ।
वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णयबाट वायु सेवा सन्चालक पछि हटेका थिए ।
वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।
वार्तामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा सन्चालक संघले नियम पालना गर्नैपर्ने अडान राखेका थिए । अन्यथा प्राधिकरणले आवश्यक कारबाही अघि बढाउने चेतावनी उनले दिएका थिए ।
साभार : अनलाइन खबर


फरकबाटो ८ असार २०७९, बुधबार ०७:३५