कालिकोटमा गर्भवतीको मृत्यु

 

कालिकोटमा गर्भवतीको मृत्यु भएको छ । समयमै उद्धार नहुँदा खाँडाचक्र नगरपालिका वडा नम्ब ५ की २८ वर्षिय गर्भवती पुन्नकली वि.कको मृत्यु भएको हो । उनको सुत्केरी हुन नसकेर मृत्यु भएको जिल्ला अस्पताल कालिकोटले जानकारी दिएको छ ।

सुत्केरी व्याथाले च्यापेपनि ढिलोगरि अस्पताल ल्याएकोले पुन्नकली सुत्केरी हुन नसकेर मंगरबार विहान १० बजेतिर ज्यान गएको अस्पतालमा कार्यरत डाक्टर निरज यादवले बताए ।

उनका अनुसार पुन्नकलीलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार राति १० बजेतिर आफन्तले जिल्ला अस्पताल कालीकोट ल्याएका थिए ।

पाठेघरमा साल च्यातिएर रगत जमेको र बच्चा मरिसकेको अवस्थामा मात्र अस्पतालमा पुगेपछि आफुहरुले जति प्रयास गर्दा पनि बचाउन नसकिएको उनले सुनाए ।

२८ वर्षिय विकको यो सातौ बच्चा भएको भएपनि उनका अझै ३ जना बच्चा जिवित रहेको डाक्टर यादवले बताए ।

कालिकोट जिल्लाबाट मात्रै यस आर्थिक वर्षमा जिल्लामा सुत्केरी गराउन गाहा्र्रे भएपछि ५ जना महिलालाई सुर्खेत तथा नेपालगञ्जमा पठाइएको कालिकोट जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेलले बताए ।

उनका अनुसार हेलिकोप्टेरको लागि प्रदेश सरकारसँग भनेको भएपनि प्रक्रियामा ढिलाई भएको कारण पुन्नकली विकको समयमा उद्धार नहुँदा बचाउन नसकिएको हो ।

सदरमुकाम भन्दा टाढा रहेका ग्रामिण बस्तीबाट महिलाहरु ढिलो अस्पतालमा पुग्ने हुनाले समयमा उद्धार गर्न समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जुम्लाबाट कृष्णमाया उपाध्यायको सहयोगमा