राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना भएको छ । कार्यालय स्थापना भएसंगै आयोगले उजुरी समेत लिन सुरु गर्ने भएको छ ।

आधिकारिक रुपमा कार्यालयको उद्घाटन भने भएको छैन । तर आयोगले उजुरी लिने काम भने सुरु गर्नेभएको हो ।

आइतबार आयोगको प्रादेशिक कार्यालय स्थापनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सचिव मुरारी खरेलले कर्णालीमा मानव अधिकार उलघंनका थुप्रै विषय भएको बताए ।

खाद्य, स्वास्थ्य, शिक्षा लगाएतका आधारभुत अधिकारबाट समेत कर्णालीका नागरिक बञ्चित भएको भन्दै सचिव खरेलले यस्ता कुराहरुमा मानव अधिकार आयोगको ध्यान जाने बताए ।

राज्यका तहमा बस्नेहरु नागरिकप्रति जवाफदेही नभएको भन्दै उनले विकासमा समेत दिगो सोच नराखेको सुनाए । उनले मानव अधिकारको उलघंनका घटना घटेमा कार्यालयमा सम्पर्क गर्न नागरिकलाई आग्रह समेत गरे ।

आयोगको प्रादेशिक कार्यालय कर्णालीका प्रमुख मानबहादुर कार्कीले आयोगले सुक्ष्मरुपमा अनुसन्धान गरेर मानव अधिकार उलघंनका घटना भएको खण्डमा सरकारलाई शिफारिस गर्ने बताए ।